सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहले भूकम्प पीडितलाई ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैयाँ, भोटेकोशी गाउँपालिकाले १० लाख रुपैयाँ र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरी जम्मा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सल्लाह र मानवीय भावानाले सिन्धुपाल्चोकका ३ वटा पालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए।
प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मल्हम लगाउनुपर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए।
पीडाको अवस्थामा भूकम्प पीडितहरुलाई हामी सबै तपाईंको साथमा छौं भन्ने महसुस गराउन सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए। सहयोग गर्ने यी तीन वटै स्थानीय तहमा नेपाली काग्रेसले विजय हासिल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।