काठमाडौं– २५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनामा साढे दुई दशकपछि कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो।
नेपाल भलिबल संघले शनिवार काठमाडौंमा पत्रकार सम्मेलनमार्पmत ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी पुस २० देखि २५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने जनाएको छ।
विसं. २०५५ मा नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकुद हुँदा भलिबलको प्रतियोगिता भने सुर्खेतमा खेलाइएको थियो। तर, त्यसपछि लामो समयसम्म भलिबलको प्रतियोगिता हुन सकेको थिएन।
भलिबलका राष्ट्रिय स्तरका प्रतियोगितालाई विकेन्द्रित गर्ने उद्देश्यअनुरूप कर्णालीमा संघले यो आयोजना गर्न लागेको हो। सो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लव गरी १० टोलीले प्रतिष्पर्धा गर्नेछन्।
शनिबार नै संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले उक्त प्रतियोगिता व्यवस्थापनका लागि कर्णाली प्रदेश भलिबल संघका उपाध्यक्ष ईश्वरबहादुर शाहीलाई सम्झौतापत्र हस्तान्तरण गरे।
उपाध्यक्ष शाहीले लामो समयपछि कर्णाली प्रदेशमा भलिबलको प्रतियोगिता हुन लागेको खुसी व्यक्त गर्दै कर्णाली प्रदेश सरकारले यो आयोजनाका लागि ४४ लाख ५ सय ६० रुपैयाँ विनियोजन गरेको जानकारी दिए।
उनले प्रतियोगितामा सहभागी खेलाडी र अफिसियललाई राम्रो सुविधासहित खेल सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन्। नेपाल भलिबल संघले भने सो प्रतियोगिताक लागि दुई लाख रुपैयाँ र पाँच वटा भलिबल उपलब्ध गराउने जनाएको छ।
प्रतियोगिताको विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ।
विधागत उत्कृष्टले भने समान पाँच हजार पाउनेछन्। साथै पत्रकार सम्मेलनमा नेपाल भलिबल संघले भूकम्पबाट क्षति भएको जिल्लाका लागि जिल्ला प्रशासन कार्यलयमा स्थापित कोषमा ५० हजार रुपैयाँ सहयोग पनि गर्ने जनाएको छ।
भलिबल संघले कर्णाली प्रदेशका जिल्लाको केन्द्रबिन्दु सुर्खेतमा भलिबल खेल आयोजना गर्दै त्यस क्षेत्रमा भलिबल विकास गर्ने योजना रहेको पनि उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।