फाइल तस्बिर धनगढी– धनगढी उपमहानगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी लगायत)मा मनोमानी जरिवाना लगाएको भन्दै ट्याक्टर व्यवसायीहरुले उत्खनन्् तथा ढुवानी बन्द गरेका छन्।
शुक्रबार बिहानैदेखि धनगढी उपमहानगरपालिकाका टिपरसँगै व्यवसायीहरुले आफना ट्याक्टरहरुलाई नदीमा जान बन्द गर्दै उत्खनन् तथा ढुवानी बन्द गरेको हो।
उत्खनन् तथा ढुवानी गर्दा तोकेको जरिवाना पुर्नर्विचार गर्नुपर्ने मागसहित मंगलबारदेखि आन्दोलित व्यवसायीहरुले शुक्रबारदेखि उत्खनन् तथा ढुवानी बन्द गरेको व्यवसायीहरु बताउँछन्। उपमहानगरपालिकाले मनलाग्दी जरिवाना तोकेकोले पुर्नर्विचार नभएसम्म व्यवसायीहरुले आन्दोलनलाई निरन्तरता दिने जनाएका छन्।
ट्याक्टर व्यवसायीहरुले नदीजन्य पदार्थमा भएको कर वृद्धि पुर्नर्विचार गर्नुपर्ने, ट्याक्टर व्यवसायीलाई रोयल्टी काटी घर राखेको भोली अथवा केही दिन पछि फाल्ने गरेको गाडीलाई जरीवाना नगर्नुपर्ने, ट्याक्टर व्यवसायीलाई धरापमा पार्ने कार्य रोक्नुपर्ने लगायतका मागसहित आन्दोलन गरिरहेको व्यवसायी रामबहादुर दाहालले बताए।
उनले भने, ‘उपमहानगरपालिकाले ट्याक्टर व्यवसायीलाई अपराधी जस्तै देख्नेगरी जथाभावी जरिवाना तोकेको छ। यसको पुर्नर्विचार हुनुपर्छ। नभएसम्म हामी आन्दोलन जारी राख्छौं।’
विभिन्न निकायमा ध्यानाकर्षण पत्र
नदीजन्य पदार्थको राजश्वमा पुर्नर्विचार गर्नुपर्ने भन्दै व्यवसायीहरुले विभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन्।शुक्रबार नदीजन्य पदार्थ उत्खनन्् तथा ढुवानी रोक्नुका साथै सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
उनीहरुले धनगढी उपमहानगरपालिकाको कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीमा पत्र दर्ता गराएका हुन्।
करमा पुर्नर्विचार हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका व्यवसायीहरुको गुनासोको सम्बोधनमा उपमहानगरपालिकाले ध्यान नदिएपछि पत्र दर्ता गरिएको उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।