काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशा कै रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि कोरीयाली सरकारलाई आग्रह गरेका छन्।
उनले नेपालमा कृषि विकासको प्रचुर संभावना रहे पनि परम्परागत प्रणाली यसको बाधक भएको बताउँदै प्रविधिमा ठूलो फड्को मारेको कोरियाले प्रविधि र लगानीमार्फत सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनसँग बिहीबार भएको शिष्टाचार भेटमा कृषिमा गरिने लगानीमा कर नलगाउने नेपाल सरकारको नीति रहेकोतर्फ ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले नेपालमा कृषि औजार कारखाना, रसायनिक तथा प्रंगारिक मल कारखाना, कृषि चिस्यान केन्द्रको स्थापना, कृषि उत्पादन प्रोसेसिङ उद्योगलगायतका क्षेत्रमा लगानीको संभावना रहेको पनि बताएका थिए।
राष्ट्रपति पौडेलले कोरियाको कृषि क्षेत्रमा धेरै नेपाली श्रमिकहरु कार्यरत रहेको र उनीहरुले राम्रो पनि गरिरहेको उल्लेख गर्दै कृषि श्रमिकलाई समानरुपमा व्यवहार हुने विश्वास व्यक्त गरे।
कोरियामा औद्योगिक क्षेत्रमा रहेका श्रमिकको तुलनामा कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरूमाथि असमान व्यवहार भइरहेको भन्ने समाचार सार्वजनिक भइरहेका छन्।
राष्ट्रपति पौडेलले कोरियामा रहेको नेपालीहरुको बचतलाई जम्मा गर्न नेपाली बैंकको स्थापना हुन सके सहज हुने र यसका लागि आवश्यक पहल लिन पनि आग्रह गरेका थिए।
पोखरेलका अनुसार कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनले नेपालको कृषि क्षेत्रको विकासमा हरेक किसिमका सहयोग गर्न कोरियाली सरकार इच्छुक रहेको बताउँदै राष्ट्रपति पौडेलले चासो दिएको मल कारखाना स्थापनाका लागि हर प्रकारले पहल गर्ने जानकारी दिएका थिए।
उनले कोरीयामा नेपाली बैंक स्थापनाका लागि नेपालबाट फर्कनेबित्तिकै सम्बन्धित निकायसँग छलफल गर्ने बताएका थिए। मन्त्री ज्योङ ह्वाङ–गेउनले नेपालमा ठूलोभन्दा ठूलो साझेदारीको प्रयत्न भइरहेको बताउँदै अर्को सालबाट हुण्डाई कम्पनीको एसेम्बलीङ गर्ने काम नेपालबाटै गर्ने तयारी रहेको जानकारी पनि दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।