काठमाडौं– गाजा क्षेत्रको हमला रोक्नुपर्ने माग सहित संयुक्त राष्ट्रसंघबाट पारित विशेष प्रस्तावप्रति इजरायलले आपत्ति जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो प्रस्तावमा इजरायलले ब्यहोरेको अत्याचारको कुनै विषय उल्लेख नरहेको भन्दै खारेज गरेका छन्।
अक्टोबर ७ मा हमास विद्रोहीले इजरायलमा घुसेर नरसंहार मच्चाएका थिए। जसको जवाफमा इजरायलले गाजा पट्टीमा युद्ध घोषणा गरेर बम बर्षा गराइरहेको छ। सो विषयलाई लिएर अक्टोबर २७ मा संयुक्त राष्ट्रसंघको महासभाको विशेष बैठक बसेको थियो। उक्त बैठकमा जोर्डनले २२ अरब देशसँग मिलेर इजरायल र हमासबीच तत्काल युद्धविराम हुनुपर्ने प्रस्ताव राखेको थियो। जुन बहुमतले पारित भएको थियो।
सोही विषयलाई लिएर प्रधानमन्त्री नेतन्याहुले इजरायलको धारणा सार्वजनिक गरेका हुन्।
‘मलाई अफसोच छ, हाम्रा केही असल मित्रहरुले पनि उक्त प्रस्तावमा कमी-कमजोरी भएको कुरा उठाउनुभएको छैन। सो प्रस्तावमा इजरायलमा भएका अत्याचार उल्लेख गरिएको छैन। कुनै पनि सभ्य राष्ट्रले यस्तो अत्याचार स्वीकार गर्दैन,’ उनले यस्तो प्रस्ताव खारेज हुनुपर्ने भन्दै अघि भनेका छन्,‘यस्तो प्रस्ताव फेरि नआओस् भन्ने आशा लिएको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।