रसुवा- बाघको दाह्रा ओसारपसारमा संलग्न दुई जनालाई रसुवागढीबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय मंगल बहादुर घले र रसुवाकै गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेका कामी तामाङ रहेका छन्।
घलेलाई भदौ ११ गते र तामाङलाई आइतबार चीनसँगको व्यापारिक नाका रसुवागढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेले जानकारी दिए। ना ६ ख ४९४२ नम्बरको कन्टेनरको गेयर बक्समा ४ थान बाघको दाह्रा लुकाएर राखेका थिए। ओसार पसारमा संलग्न दुई जना फरार रहेका उनको भनाइ छ।
बाघको दाह्रा रहेको सुराकीको आधारमा रसुवागढी प्रहरी चौकी र सीमा प्रहरी चौकी टिमुरेले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये घलेलाई लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाइ सकेको छ भने तामाङलाई सोमबार बुझाउने तयारी रहेको प्रहरी निरीक्षक वाग्लेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।