बझाङ– दैनिक आवतजावत गर्ने झोलुङ्गे पुल जिर्ण बन्दा वित्थडचिर गाउपालिका–९ का स्थानीयले सास्ती भोग्नु परेको छ। स्थानीय कालंगा नदीमा रहेको झोलुङ्गे पुल जिर्ण हुँदा स्थानीयबासीले असुरक्षित तबरबाट दैनिक आवातजावत गर्नुपरेको हो।
केदारस्यु र वित्थडचिर गाउँपालिका जोड्ने २५ वर्षअघि निर्माण गरिएको पुल अहिले जिर्ण बनेको छ। पुलमा बिच्छाइएका काठका फ्ल्याकहरु कुहिएर झर्न थालेका छन्। ठाउँठाउँमा जालीहरु चुडिँएका छन्। स्थानीयले बेलाबेलामा पुलको मर्मत गर्नेगरे पनि त्यसले थेग्न छाडेको छ।
गाउँबाट ज्यालामजदुरी तथा जागिरका लागि सदरमुकाम चैनपुर आउने स्थानीय देखि सरकारी तथा गैरसरकारी कर्मचारीहरुलाई सोही पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ। पुलको अवस्था जिर्ण भएपनि काममा जाँदा र फर्किंदा असुरक्षित यात्रा गर्नुपरेको बित्थडचिर गाउँपालिका–९ का हर्क धामीले बताए।
‘बर्खामास पानी परेका बेला त पुलमा बिछ्याइएका काठहरुसम्म पुग्नेगरी पानीको बहाव बढेको हुन्छ। कुन बेला पानीको बहावले पुल नै लैजाने हो की अत्तो–पत्तो हुँदैन।’, पुल तर्दै गरेका समय भेटिएका धामीले भने, ‘यो पुल विस्थापित भयो भने त हामीजस्ता कैयौं काम गरेर खाने व्यक्तिहरुको त गास नै चुडिँन्छ।’
स्थानीय थलारा बजारमा डकर्मी पेसा गर्दै आएका धामीले पुलको अवस्थाको बारेमा स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराइए पनि सुधारको लागि पहल नभएको गुनासो पोखे। भने, ‘हामीले भनेको कसले सुन्छ र?’
पुलको अवस्थाका कारण विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई पुल तार्न अनिवार्य रुपमा अभिभावकहरु आउनुपर्ने बाध्यता छ। थलारा बजारमा रहेको चन्द्रोदय मावि, बाथलामा कक्षा तीनमा अध्ययनरत रमेश धामीले भने, ‘पानी नपरेको दिन त जसोतसो आफैं गैहाल्छौ। तर, पानी आएको दिन भने आमा बुबाले नै खोला तार्न आउनुहुन्छ।’
करिब ९ सयभन्दा बढी परिवारको बसोबास रहेको उक्त क्षेत्रका अधिकांश स्थानीयमा हर्क र रमेश त प्रतिनिधि पात्र मात्रै हुन्। याे समस्या हिजाेअाज गाउँलेले नदेखेझैं गरेर हिँड्नु परेकाे छ।
उता गाउँपालिकाका एक कर्मचारीले वडाबाट पहिलो निर्णय नै पुल निर्माणका विषयमा भएपनि जनप्रतिनिधिले वास्ता नगर्दा सो कार्य अगाडि बढ्न नसकेको बताए। ‘हाल प्रदेश सरकारबाट निर्माणको आस्वासन दिइए पनि जनप्रतिनिधि भने कानमा तेल हालेर बसेका छन्।’, उनले भने।
यता, बित्थडचिर गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले पुलको विषयमा गम्भीर रहेको र निकट भविष्यममा नै पुल निर्माण गरिने बताए। ‘आफूहरुले सो पुलको निर्माणका लागि प्रदेश र केन्द्र सरकारसम्म पहल गरिरहेका छौं। छिट्टै सहज यात्रा गर्न पाउने वातावरण बनाउने छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।