प्रतिकात्मक तस्बिर
बैतडी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परेको असिनाले बालीनाली सखाप पारेको छ। आइतबार साँझ डडेलधुरा, डोटी र बैतडी जिल्लामा परेको असिनाले भित्र्याउने अवस्थामा रहेको बाली सखाप पारेको किसानहरुले बताएका छन्।
असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको बैतडीको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए। पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्। धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ।
आइतबार दिनभरि मौसम सफा रहे पनि साझँपख असिनासहित वर्षा भएको थियो। वर्षाका कारण काटेर सुकाएको खर घाँसमा समेत क्षति भएको बैतडीको दोगडाकेदारकी अन्जु भाटले बताइन्। हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन्। हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।