काठमाडौं- साँझ पर्दै थियो। न्युरोडका गल्ली-गल्लीमा दशैंको किनमेल गर्न आउनेको भीड लागेको थियो। दशैंका किनमेल बोकेर फर्किँनेको चहलपहल उस्तै थियो।
किनमेल गरेर फर्किनेहरु उत्साहित देखिन्थे। किन्न जाँदै गरेकाहरु पनि उत्तिकै जोसमा थिए। तर त्यही भीडमा निन्याउरो अनुहार लगाएर भारीको पर्खाइमा थिए, साहुको भारी बोकेर गुजारा चलाउने श्रमिकहरु।
‘भारी बोक्न पाइन्छ कि’ भन्दै हातमा नाम्लो बोकेर दोकान चहार्दै थिए लिलानाथ गौतम। उमेरले ७० वर्ष लागेका उनी वृद्धा भत्ता खाएर बस्नु पर्ने उमेरका हुन् तर साहुको भारी बोकेर जीविका चलाइरहेका छन्।
‘जन्मको हिसाबले ७० पुगेँ, तर नागरिकता अनुसार दुई वर्षले भत्ता खान उमेर पुगेन। नागरिकता बनाउने जन्ममिति बिगारेर १० सालको मान्छेलाई १२ सालको बनाइदिएको रहेछ,’ उनले भने।
दुई छोरा र श्रीमती सहित उनी काठमाडौंमै डेरा गरेर बस्छन्। विगत ४० वर्षदेखि न्युरोडमा भारी बोक्ने काम गरिरहेका उनी त्यही पैसाले उनले आफ्नो घर खर्च टार्छन्।
उनी हरेक वर्षको दशैं काठमाडौंमै मनाउँदै आएका छन्। ‘अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष सबैथोक महँगो भएको छ। चामल, चिनी, मरमसलो, सबै चिजको भाउ चार गुणा बढेको छ। यस्तो महँगीमा कसरी मनाउने दशैं,’ लिलानाथले भने।
अघिल्ला वर्षहरुमा दशैंको बेलामा गौतमको कमाइ राम्रो हुन्थ्यो। दशैं लागेपछि त उनले भारी बोकेरै दुई/चार हजार कमाइ गर्थे तर अहिलेको कमाइले बिहान-बेलुकाको छाक टार्न धौधौ परिरहेको उनी सुनाउँछन्।
‘सामान महँगो भएपछि मान्छेले किन्न छाड्दो रहेछ। त्यसैले साहुको व्यापार छैन। व्यापारै नभएपछि हाम्रो कमाइ हुँदैन। दशैंका मनाउन साथीभाइसँग सरसापटी गर्नै पर्छ,’ लिलानाथले भने, ‘पाहुना आउँछन्। अरु नभए पनि दुई छोरी-ज्वाइँ, नाति-नातिना छन्। मिठो-मसिनो खान दिनै पर्यो, ज्वाइँ-चेला आउँदा दक्षिणा दिनै पर्यो।’
दिनहुँ महँगी बढ्दै जाँदा पनि सरकारले नियन्त्रण नगरेको उनले गुनासो पोखे। आफूजस्ता श्रमिकका लागि महँगीले कति असर पर्छ भन्नेबारे सरकारले ख्यालै नगरी सबै वस्तुको मूल्य बढाइरहेको लिलानाथ सुनाउँछन्।
‘धनीलाई त के छ र, जति महँगिए पनि किनेर खान सक्छन् तर हामी जस्ता दिनभरि कमाएर बेलुका छाक टार्न धौ–धौ हुनेहरुका लागि कस्तो असर पर् छभन्ने सरकारले ख्यालै गरेको छैन। महँगी बढेको बढ्यै छ। हाम्रो ज्याला बढ्दैन। अब त दाल-भात खान नसक्ने स्थिति आएको छ,’ लिलानाथले भने।
हात्तीबहादुर सुवेदी पनि न्युरोड क्षेत्रमा भारी बोक्छन्। उनले न्युरोडमा भारी बोकेको २० वर्ष बित्यो। उनी यो वर्ष दशैं मनाउन गाउँ दोलखा जाने सोचमा छन्। यसपालि खासै कमाइ छैन उनको पनि। दैनिक आफूलाई छाक टार्न मुस्किलले पुर्याउँदै आएको उनी सुनाउँछन्।
‘दशैं आएको छ, घर त जानै पर्यो। गाडी भाडा महँगिएर ७ सय पुगेको छ। सबै सामानको भाउ छोइसक्नु छैन। अघिल्लो वर्ष एउटा संस्थाले यहाँका भारी बोक्नेहरुलाई पाँच/पाँच हजार रुपैयाँ दिएर सहयोग गरेको थियो र दशैं रमाइलैसँग मनाउन पाइएको थियो। अहिले त आफ्नो कमाइ पनि छैन,’ सुवेदीले भने, ‘काम पनि कन्ट्याकमा भए सजिलो हुन्छ। केही महिना घर बसेर फेरि आएको, पहिलाका साहुहरुले पनि पत्याउँदैनन्। केही त १० तलामाथि भारी पुर्याउन लगाएर ५० रुपैयाँ दिने साहुहरु पनि छन्।’
पोहोर उनले १० धार्नी तौलको खसी नै किनेर दशैं मनाएका थिए। यस वर्ष भने एक/दुई किलो मासु किनेर खान सक्ने अवस्था नभएको उनी सुनाउँछन्।
अर्का ६६ वर्षीय रामबहादुर भुजेलको अवस्था पनि उस्तै छ। कमाइ खासै छैन। साहुहरुले काममा कहिलेकसो मात्रै बोलाउँछन्। परिवारको दैनिक छाक टार्नै आफ्नो दैनिक कमाइ सकिने बताउँछन्।
‘दाल,चामल,मसला भुटुन सबै कुराको भाउले आकासिएको छ। काम पनि छैन, दाम पनि छैन। कहिलेकाहीँ त दिनभरि कसले काम देला भन्ने बाटो हेदै बित्छ। काम आउँदा कमाइ राम्रै हुन्छ। तर महँगीले गर्दा दिनभरि कमायो, साँझ-बिहानको छाक टार्नमै सकिन्छ,’ उनले भने।
पहिला–पहिला जस्तो दशैं आएकोमा हर्ष छैन रामबहादुरलाई। ‘धनीका लागि दशैं आउँछ, हाम्रा लागि दशा हो। धनीले निकै तडकभडक गर्छन्। हामीले महँगीमा त्यसो गर्न सकिँदैन। अरुले खाएको, लाएको देख्दा मन खिन्न हुन्छ। तर जेजस्तो भए पनि जसोतसो दशैं त मनाउनै पर्छ,’ उनले भने।
उनका श्रीमती र दुई छोरा छन्। जेठा छोरा सवारी चालक छन्। ती अलग भएर बसेका छन्। कान्छा छोरा वैदेशिक रोजगारीका लागि खाडी मूलुकमा छन्। ‘छोराहरुले हामीलाई वास्ता गर्दैनन्। हामी दुई जना जसोतासो गरेर खाएका छौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।