धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन चौथो दिन पनि जारी छ। अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुले पूर्व उपाध्यक्ष भीम रावल पक्षलाई बाइपास गर्न खोज्दा सर्वसम्मत नेतृत्व चयन गर्न सकस परेको छ।
सुरुमा ओली पक्ष नै विभाजित थियो। कर्णबहादुर थापा, लेखराज भट्ट र दामोदर भण्डारी तथा लाबहादुर थापाले उपगुट बनाएर उम्मेदवार खडा गरेका थिए। बुधबार ओली पक्षमा सहमति भए पनि रावल पक्षले भने आफ्नो अडान कायम राखेको छ।
एक केन्द्रीय सदस्यका अनुसार रावल पक्षले अध्यक्ष र एक उपसचिवमा दाबी कायम गरेको हो। उक्त पक्षबाट उयपाध्यक्ष उठेका हरिसिंह साउँदले उम्मेदवारी फिर्ता लिएका छन् भने सचिवका उम्मेदवार रतनराज रेग्मी पछि हट्न तयार छन्।
रावल पक्षबाट अध्यक्षमा भरत साउँद र उपसचिवमा नरबहादुर बिक, महिलामा भागिरथी विष्टले दाबी गरिरहेका छन्। ओली पक्षबाट उपसचिव रहेका अशोक चन्दलाई फिर्ता गराएर बिकलाई बनाउने कुरा सहमतिनजिक पुगेको छ। तर, महिलामा पनि अझै सहमति जुट्न सकेको छैन।
ओली पक्षका केन्द्रीय नेताहरुले पदहरु भागबन्डा मिलाउँदा उपसचिव महिला नारदमुनि रानानिकट नेतालाई बनाउने सहमति गरेका थिए। रानाले कन्दकला रानालाई अघि सारेका छन्।
सर्वसम्म नेतृत्व चयन हुने हल्ला चलेपछि प्रतिनिधिहरु भने बुधबार बेलुकीदेखि नै फर्किन थालेका छन्। बिहीबार बिहानसम्म सहमति नबनेका कारण केहीलाई फर्काउने र केहीलाई रोक्ने काम भइरहेको एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।