काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले सबै नीतिगत निर्णयहरु अख्तियारलाई छानबिन गर्न दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर बन्ने बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अख्तियारलाई सबै निर्णय छानबिन गर्न दिँदा प्रधानमन्त्री बलियो हुन नसक्ने बताए।
उनले भने,‘सबै नीतिगत निर्णयहरु अख्तियारले छानबिन गर्न दिने भन्यो भने प्रधानमन्त्री कति बलियो हुन्छ। प्रधानमन्त्रीमाथि भोलि अख्तियार नै अर्को सरकार हुने हो कि? किनभने हाम्रो त समग्र संवैधानिक ढाँचाभित्र सन्तुलन पनि खोज्नुपर्छ। प्रत्येक निर्णय अख्तियारले हेर्न पाउने हो भने प्रधानमन्त्रीको अपमान हुन्छ। सँगै तपाईंहरुलाई हेर्न नदिने हो भने जे निर्णय पनि क्याविनेटमा पठाइदिने भयो। यस बीचको सन्तुलनकारी नीति र प्रावधान के हुनसक्छ? यो बारेमा सोच्नुपर्छ।’
मन्त्रिपरिषद्का निर्णयहरुलाई पनि हेर्ने र प्रधानमन्त्रीको अधिकार पनि नखोसिने गरी मध्यकारी प्रावधान बनाउन जरुरी रहेको उनको भनाइ थियो।
उनले संवैधानिक ढाँचाभित्र सन्तुलन खोज्दा दुवै पक्षलाई राम्रो हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।