पर्वत– पर्वतमा अनौठो सर्प गाउँमा पसेपछि गाउँका स्थानीयबासी त्रसित बनेका छन्।
पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो।
साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका हुन्।
सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो।
झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रंगकाे सर्प शनिबार दिउँसो देखिएको थियो।
स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो। त्यसलगत्तै झाडीमा पसेको सर्प फेरि देखिएको छैन।
गाउँमा अहिलेसम्म यत्रो ठूलो सर्प नदेखिएको र त्यसले अर्को सर्पलाई पनि खाएका कारण उक्त सर्पले बालबालिका र चौपायालाई पनि आक्रमण गर्छ की भन्ने डरले स्थानिय पिरोलिएका छन्।
उनीहरुले उक्त सर्पको खोजी गरी नियन्त्रण गरिदिन जिल्ला वन कार्यालयलगायत प्रहरी प्रशासनसँग माग गरेका छन्।
विषालु सर्प गाउँमा भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको भन्दै नियन्त्रणका लागि माग गरिएको स्थानीय रामचन्द्र सुवेदीले बताए।
स्थानीयले अजिङ्गर हो कि भन्ने अनुमानसमेत गरेका छन्।
यसअघि यस्तै प्रजातिको सर्प पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा पनि भेटिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।