एथेन्स- ग्रीसको संसदले १५ वर्षमाथिका किशोर-किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएको कानुनलाई अनुमोदन गरेको छ।
यस कानुनी प्रावधानप्रति ग्रीसको अर्थोडक्स चर्चले भने विरोध जनाएको छ।
ग्रीसको वामपन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा २८५ सदस्य रहेको संसदमा १४८ मतद्वारा लिङ्ग परिवर्तन सम्बन्धी कानुन पास गरेको हो। सिरिजा पार्टीको राष्ट्रवादी गठबन्धन एनेल पार्टीका ९ मध्ये एकले मात्र कानुनको समर्थन गरेको छ।
विद्यमान कानुनअनुसार ग्रीसमा आफ्नो लैङ्गिक पहिचानका लागि लिङ्ग परिवर्तन गर्न चाहने व्यक्तिले पहिले शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको थियो। नयाँ कानुनले यसलाई अनिवार्य गर्नेछैन।
प्रमुख प्रतिपक्षी दल न्यु डेमाक्रेसीले लिङ्ग परिवर्तन गर्ने कानुनलाई समर्थन जनाएको भए पनि उमेर हदलाई १८ वर्ष तोक्नुपर्ने अडान राखेको थियो।
'तेस्रोलिङ्गी नागरिकले आफू फरक लैङ्गिक पहिचान भएकै कारण अपमानित हुनुपर्ने थियो, यसलाई हामीले तोड्नु र उनीहरूको अधिकार दिनुपर्थ्यो,' ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले भने, 'आज यो सम्भव भएको छ।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।