धनगढी– कञ्चनपुरमा एक महिलालाई सामूहित रुपमा हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–३ को आईबीआरडी बजार बस्दै आएकी २७ वर्षीया लक्ष्मी घर्तीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुस्करराज पन्तले भदौ ३० गते आईबीआरडी बजारदेखि (घ) गाउँतर्फ जाने सडकमा बेवारिसे अवस्थामा मृत भेटिएकी घर्तीको सामूहिक हत्या गरेको अभियोगमा आइतबार चार जनालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय पर्शु राना रहेका छन्।
हत्या संलग्न भनिएका लालझाडीका ३० वर्षीय राजकुमार राना फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। २९ भदौको साँझ मामाघर जान्छु भनेर घरबाट निस्किएकी घर्ती भोलिपल्ट आईबीआरडी बजारदेखि (घ) गाउँतर्फ जाने सडकमा मृत भेटिएकी थिइन्।
शव परीक्षणका क्रममा टाउको, दाहिने कानलगायत शरीरमा चोट देखिएपछि प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान थालेको थियो।
प्रहरी निरीक्षक पन्तकाअनुसार अनुसन्धानका क्रममा घर्ती घरबाट निस्किएको दिन हत्या आरोपमा पक्राउ परेका युवाहरुले ललाई–फकाई गरी मोटरसाइकलमा राखेर लालझाडी गाउँपालिका–१ को लालझाडी जंगलमा हात्ती हेर्न तथा वनको रेखदेख गर्नका लागि लगेको पाइएको थियो।
त्यहाँ बनाइएको काठको टहरामा घर्तीलाई लगेर मदिरा सेवन गराएपछि राति साढे १० बजेको समयमा उक्त टहराको तेस्रो तलाबाट लक्ष्मी घर्तीलाई उनीहरुले खसालेको देखिएको प्रहरीले बताएको छ।
टहरोबाट खसालेपछि गम्भीर घाइते भएकी घर्तीलाई बेहोस अवस्थामा मोटरसाइकलमा राखेर मृतकको माइती घरनजिकै सडक किनारमा शव फालेर पाँचै जना भागेको खुलेको प्रहरी निरीक्षक पन्तले बताए। लक्ष्मीको हत्यामा संलग्न भएका पाँचमध्ये पक्राउ परेका चार जनालाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ भने फरार रहेका राजकुमार रानाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।