काठमाडौं- पथ प्रदर्शकको छाता सङ्गठन टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले टुरिस्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको टुर्गान पदाधिकारीको आकस्मिक बैठकले टुरिस्ट गाइडले हाल खाइपाइ आएको पारिश्रमिकमा १ जनवरी २०१९ बाट लागू हुने गरी औसत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको टुर्गानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पर्यटकलाई दिने सेवासुविधाबापत टुरिस्ट गाइडले पाउने गरेको पारिश्रमिकलाई मध्यनजर गरी बढाउने निर्णय टुर्गानका अध्यक्ष केदार तामाङले बताए। 'गाइड भनेका पर्यटकको पहिलो आधारशीला हुन्, त्यही भएर हाम्रो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ,' उनले भने।
बढ्दो महँगी तथा समयानुकूल आर्थिक नीतिका कारण दैनिक उपभोग्य वस्तुदेखि हरेकमा वृद्धि भए पनि विगत पाँच वर्षदेखि गाइडको पारिश्रमिक बढ्न सकेको थिएन। 'पटकपटक नाट्टासँग वार्ता हुँदा पनि पारिश्रमिक वृद्धि गर्न नाट्टाको नेतृत्व सकारात्मक नदेखिएको तथा टुर्गानप्रति हेपाहा प्रवृत्ति देखाई एक पक्षीय पारिश्रमिक बढाएको हवला दिँदै पत्राचार गरेकामा सङ्घ घोर भर्त्सना गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।