धनगढी– प्रथम सुदूरपश्चिम शारीरिक सुगठनको उपाधि लक्ष्मीदत्त पन्त र सुनिल चन्दले प्राप्त गरेका छन्।
सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत शारीरिक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ पन्तले उपाधि पाएका हुन्।
यस्तै शारीरिक सुगठन विधामा द्वितीय पुरस्कार आर्यान शाही, तृतीय अर्जुन साउद र सहानुभूतितर्फ अनिल सेरलाले प्राप्त गरेका छन् भने मेन्स फिजिकतर्फ द्वितीय पुरस्कारतर्फ अजय रिजाल, तृतीय अमृत रावत र सहानुभूतितर्फ सन्देश शाहले प्राप्त गरेका छन्।
प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ। यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिइएको छ।
साथमा जिन्सी पुरस्कारहरू पनि प्रदान गरिएको छ। प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले विजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा सामग्री हस्तान्तरण गरे।
सो अवसरमा मन्त्री साउदले खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘अहिले खेलकुदमा सीमित स्रोत साधन रहेको छ। प्रदेश सरकारले अहिले पनि खेलकुदमा बजेट विनियोजन गरेको छ। तर, त्यो अपर्याप्त हो। आगामी आर्थिक वर्षमा प्रदेश सरकारले प्राथमिकता क्षेत्र पहिचान गरी खेलकुदमा बजेट विनियोजन गर्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।