काठमाडौं- चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ।
चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र सङ्गिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ४ दशमलव ८४२ सेकेण्डको समय लगाउँदै समूह सीमा दोस्रो भएको हो। यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ।
प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरिएको छ। यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो। तर दोस्रो हुने मध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो।
यस्तै आजै भएको क्वाटरफाइनलअन्तर्गत समूह ‘ए’बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह ‘बी’बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन्। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।