काठमाडौं– ‘राजधानी जस्तो सुरक्षित स्थानमा एउटा युवाको विभत्स हत्या भएको छ, यत्तिका दिन भइसक्यो, तर दोषीलाई कानुनी दायरा ल्याउन ढिला भयो, सभामुख महोदय’, नेकपा स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले बुधबारको सदनमा बोल्दै भने, ‘बाग्लुङ बुर्तिबाङका २२ वर्षीय संगीन जिसीको हत्याबारे सत्यतथ्य जानकारी दिइयोस्।’
भदौ १० गतेदेखि हराइरहेका संगीनको शव ७ दिनपछि भदौ १७ गते स्वयम्भूको जंगलमा भेटियो। उनको शव जंगलको बीचमा विभत्स अवस्थामा फेला परेको थियो । बाग्लुङ ढोरपाटन नगरपालिका–१ का संगीन काठमाडौको सानो भर्याङमा हजुरबुबा र हजुरआमासँग बस्दै आएका थिए। उनी भदौ १० गते जनैपूर्णिमाको दिन हजुबुबालाई ‘एकछिन बाहिर जान्छु’ भनेर घरबाट निस्किए।
साँझसम्म पनि घर नफर्किएपछि हजुरबुबाले संगीनलाई फोन गरे। संगीनले मोबाइल घरमै चार्जमा राखेर हिंडेका रहेछन्। त्यसपछि हजुरबुबाले संगीनका बुबानिमबहादुर जिसीलाई फोन गरे। बुबाले पनि घरमा नआएको बताएपछि चिनेजानेका सबैमा सोधखोज गरे। कतै पत्ता नलागेपछि भोलिपल्ट संगीनका परिवारले प्रहरीमा उजुरी लेखाए।
प्रहरीले संगीनको खोजी जारी राखेको बतायो। परिवारले पनि आफ्नै तरिकाले संगीनलाई खोजिरहे। उनीहरुलाई संगीन भेटिने आशा थियो। तर, जब १७ गते प्रहरीले ‘तपाईंको मान्छेको हुलियासँग मिल्ने एउटा मृत शरीर भेटियो’ भनेर खबर ग¥यो, तब उनीहरु खङरङ्ग भए। प्रहरीले परिवारलाई थाहै नदिई मुचुल्का उठाएर संगीनको शव महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याएछ। परिवारका सदस्य अस्पतालमा हेर्न आएपछि प्रस्ट भए, शव संगीनकै थियो। उनीहरु छाँगाबाट खसेजस्तै भए।
संगीन बानेश्वरस्थित न्यू समिट कलेजमा आइटी अध्ययन गरिरहेका थिए। तर, जब आशाको त्यान्द्रोका रुपमा रहेका छोराको शव भेटियो, तब परिवारमा सन्नाटा छायो। अहिले संगीनको परिवार शोकमा छ।
शव भएको जानकारी पाएपछि स्वयम्भू प्रहरी यहाँ आएको थियो। जहाँ संगीनको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटियो। तर, शंकास्पद कुरा यो छ कि, मृतकको टाउकोको अस्थिपञ्जर मात्रै भेटियो। बेपत्ता भएको एक सातामै टाउकोको अस्थिपञ्जर मात्रै भेटिनुले घटनालाई थप रहस्यमय बनाएको छ। आफन्त र परिवारले संगीनको हत्या भएको ठोकुवा गरिरहेका छन्। र, हत्यारालाई खोजी गरी कारबाही गर्नुपर्ने बताइरहेका छन्। उनीहरुले प्रहरी अनुसन्धान प्रक्रियामाथि नै गम्भीर शंका व्यक्त गरेका छन्।
संगीनको हत्या भएको हो या आत्महत्या भन्ने पनि स्पष्ट भएको छैन। यद्यपि, घटना प्रकृतिले उनको हत्या भएको अनुमान गर्न सहज छ। सँगै घटनाक्रमसँगै भेटिएका केही दसीका कारण अनुसन्धान सहज हुनुको विपरीत शंकास्पद र रहस्यमयी भएको छ।
परिवारका अनुसार भदौ १० गते अर्थात् जनैपूर्णिमाको दिन दिउँसो दुई बजेतिर संगीन घरबाट एकछिन बाहिर गएर आउँछु भनेर निस्किए । चप्पल लगाएर बाहिर निस्केका कारण उनले तय गरेको गन्तव्य टाढा थिएन भनेर अनुमान गर्न सकिन्छ। उनले मोबाइल घरमै छाडेर हिंडेका थिए। कतै टाढाको योजना भए उनले मोबाइल बोक्ने थिए। यो कुराले घटनालाई शंकास्पद र रहस्यमयी बनाएको छ।
प्रहरीले परिवारलाई बताएअनुसार घटनास्थलमा तरकारी काट्न प्रयोग गरिने चक्कु भेटिएको थियो । तर,यति सानो हतियारले गर्धन रेट्न सम्भव नहुने परिवारको बुझाइ छ। टाउकोको सबै मासु गलेर अस्थिपञ्जर मात्रै भेटिनुले चक्कुको प्रयोगबाट संगीनको मृत्यु भएको भएको भनेर पत्याउन कठिन छ।
प्रहरीको अनुसन्धानप्रति नै संगीनका आफन्त तथा परिवारले शंका गरेका छन्। संगीन हराएको २४ घण्टाभित्र नै परिवारले स्वयम्भू प्रहरी चौकीमा उजुरी गरेका थिए। त्यसको सात दिनमा स्वयम्भू प्रहरीले नै उनको शव भेटेको थियो । तर, प्रहरीले परिवारलाई खबर नै नगरी घटनास्थलबाट मुचुल्का उठाएको थियो। जुन ठाउँमा उजुरी गरेको हो, त्यही ठाउँका प्रहरीले शंकास्पद र आफूले दिएको हुलियासँग मिल्ने शव भेटिंदा पनि मुचुल्का उठाउने समयमा परिवारलाई खबर नगरेको भन्दै उनीहरुले प्रहरीमाथि नै आशंका गरिरहेका छन्।
‘छोराको हत्या भएको हो भन्नेमा हामी विश्वस्त भएका छौं’ संगीनका बाबु निमबहादुरले भने, ‘प्रहरीले हेलचक्राईँ गरेको कुरा पनि स्पष्ट छ, तर अहिले पनि प्रहरी दोषी पत्ता कुरामा गम्भिर होस्, हाम्रो माग यही हो।’
उता यस विषयमा महानगरीय प्रहरी परिसरका प्रमुख वसन्तकुमार लामाले भने घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्। उनले भने, ‘पोस्टमार्टमको रिपोर्ट तयार भइसकेको जानकारी पाएका छौं तर हामी समक्ष आइपुगेको छैन। तर, मृतक संगीनसँग जोडिएका व्यक्तिबारे हामीले अनुसन्धान सुरु गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।