काठमाडाैं- उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडिबुटीमा निर्माण भएको पूर्वअरनिको यातायातको बसपार्क नभत्काउन  अल्पकालीन अन्तरिम आदेश दिएकाे छ। न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क भत्काउने कार्य नगर्न आदेश दिएकाे हाे।
‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु/नगराउनु,’ अन्तरिम आदेशमा भनिएको छ। 
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 
उच्चले अर्को पेसी असोज २१ गते तोकेको छ। उक्त दिन लिखित जवाफसहित छलफलमा आउन महानगरपालिकालाई समेत भनेको छ। उक्त दिनमा हुने बहसपछि मात्र बसपार्क भत्काउने निर्णय हुनेछ। 
महानगरले नयाँ बसपार्कमा मात्र गाडी पार्क गर्न पाउने भन्दै उक्त बसपार्क भत्काउने भनेको थियो। उच्च अदालतको यो आदेशपछि तत्काल बसपार्क नभत्किने भएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।