राजविराज– सप्तकोशी नदीको पानी पसेर गाउँ नै विस्थापित भएको १० दिन बितिसक्दा पनि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका दर्जनौं पीडित परिवार अहिले पनि घर फर्कन सकेका छैनन्।
गाउँमा जमेको पानीको निकास र कोशी नदीको पानी नियन्त्रणको ठोस र दिर्घकालिन समाधानको पहल नहुँदा अधिकांश पीडित परिवार त्रिपालकै सहारामा जीवनयापन गरिरहेका छन्। गाउँमा बाढी पसेपछि नगरपालिकामार्फत चिउरा, मुरही र १/१ थान त्रिपाल बाँड्ने बाहेक समस्या समाधानका लागि अर्को कुनै पहल नभएको उनीहरुको गुनासो छ।

पानी सुक्दै गएपछि घर फर्किने वा सुरक्षित स्थानमा सर्ने भन्ने अन्यौलता कायमै रहेको वडा नम्बर ६ की जैनव खातुनले बताइन्। मंसुरीलगायत वडा ६ का करिब ३६ पीडित परिवार अहिले पनि कोशीको पश्चिमी तटबन्धमा त्रिपाल टाँगेर बसेका छन्।
घरमा भएको खाद्यान्न पानीमा डुबेर कामै नलाग्ने भएपछि खानेकुराको पनि अभाव भएको स्थानीय शुभराती मन्सुरीले गुनासो गरिन्। ‘सडकको बास भएको १० दिन बित्यो। अहिलेसम्म न त गाउँका नेताले हाम्रो समस्या बुझे, न त सरकारले नै खोजीखबर गर्यो’, उनले भनिन्, ‘बालबच्चा, बिरामी र बुढाबुढीलाई जोगाउन मुस्किल पर्न थाल्यो।’
नगरपालिका र सरकारले समस्या समाधानका लागि पहल गर्ने आशामा बसेका केही बाढी पीडितले भने राहतका नाममा दिइने २/४ किलो चामल र दाल भन्दा पनि सुरक्षित बासस्थानका लागि पहल गरिदिन माग गरेका छन्। सुकुम्बासी भएकै कारण वर्षौंदेखि तटबन्ध नजिक बसोबास गर्दै आएपनि खोलाले धार परिवर्तन गरेपछि अब सोही स्थानमा बस्नु जोखिमपूर्ण भएको ५५ वर्षीय युसुफ मन्सुरीले दाबी गरिन्।

हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्य संयोजक तथा विपद व्यवस्थापन समितिका श्रोत व्यक्ति रामदेव यादवले भने गाउँमा बाढी पसेलगत्तै एक चरण सम्पूर्ण घरपरिवारलाई खाद्यान्न लगायत आधारभुत सामग्री उपलब्ध गराइएको बताउँदै समस्याको दिर्घकालिन समाधानका लागि पनि पहल भइरहेको बताए।
कोशी तटबन्धको पूर्व रहेका परिवारलाई पश्चिमतर्फ सर्न पटक–पटक सूचना गर्दासमेत अटेर गर्दा बढी नै समस्या देखिएको उनले जानकारी दिए।
‘नगरपालिकाले यसै आर्थिक वर्षभित्र ६५ घरका भूमिहिनका लागि निःशुल्क घर बनाइदिने निर्णय गरेको छ’, यादवले थपे, ‘त्यो निर्णयले केही हदसम्म समस्या समाधान हुन्छ, बाँकीका लागि कार्यपालिकाको बैठकमा छलफल हुनै बाँकी छ।’ पहिलो चरणमा तटबन्ध पूर्व रहेको बस्ती पश्चिमतर्फ सार्न नगरपालिकाले पहल गरिरहेको पनि उनले बताए।

भदौ १२ गते राती सप्तकोशी नदीको पानी गाउँ पसेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको ५, ६, ७, ११ र १२ गरी ४ सय ९३ र तिलाठी–कोइलाडी गाउँपालिकाको ४ र ५ गरी ३५ घरपरिवार प्रभावित भएका छन्।
भारतले कोशी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काएपछि सामान्य अवस्थामै पानी गाउँ पसेको हो। अढाइदेखि ३ लाख क्युसेक कोशीको बहावमा पनि गाउँ नपसेको पानी यसपटक च्यानलकै कारण समान्य अवस्थामै गाउँ पसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।