काठमाडौं- दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पूरा गर्ने समय-सीमा सात वर्ष मात्रै बाँकी रहँदा सरोकारवाला निकायहरुले त्यसको उपलब्धि हुन नसकेको भन्दै चिन्ता जाहेर गरेका छन्। 
दिगो विकास सम्बन्धी विभिन्न १७ वटा लक्ष्यलाई हासिल गर्नुपर्ने भन्दै सन २०१५ देखि २०३० सम्मका लागि सुरु भएको थियो। तर त्यसको अवस्थामा नेपालमा सन्तोषजनक नभएको भन्दै सरोकारवाला निकायहरुले चिन्ता व्यक्त गरेका हुन्। 
गैरसरकारी महासंघ नेपालले दिगो विकास लक्ष्यको अवधारणा सरकार र अन्तर्राष्ट्रिय समुदायको भएको भए पनि सिंहदरबार र काठमाडौका पाँचतारे होटलभन्दा बाहिर जान नसकेको आरोप लगाएका छन्। 
दिगो विकास लक्ष्य सम्बन्धी छैटौं सम्मेलनपछि युथ एड्भोकेसी नेपाल, गैरसरकारी संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालले भने जस्तो उपलब्धि नभएको टिप्पणी गरेका हुन्।
गैरसकारी महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले दिगो विकासका लक्ष्यहरु पाँच वटा आधार स्तम्भहरु मानव, पृथ्वी, समृद्धि, शान्ति र साझेदारीमा आधारित भए पनि नारामा मात्रै सीमित भएको टिप्पणी गरे। उनले भने,‘दिगो विकास लक्ष्यका उलपलब्धिहरु पूरा गर्न सात वर्ष मात्रै बाँकी छ। अन्तर्राष्ट्रिय जगतमा नेपालले उपलब्धि गरेको विषयले चर्चा पाइरहेको छ। तर दिगो विकासको कुरा सिंहदरबार र पाँचतारे होटलभन्दा बाहिर जान सकिरहेको छैन।’उनले तीन तहका सरकारमध्ये प्रदेश र स्थानीय तहमा उक्त मुद्दाहरु समेट्न नसकिएको बताए। 
त्यसैगरी युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले दिगो विकास लक्ष्य सम्बन्धी घोषणापत्र विश्वव्यापी अजेण्डा भएको बताए। उनले भने, ‘दिगो विकासको लक्ष्य प्राप्तिका लागि नेपालले अन्तर्राष्ट्रिय रुपमै प्रतिवद्धता जनाएको छ। तर नेपालले प्रतिवद्धता अनुसार बजेट छुट्टाउन सकिरहेको छैन।
दिगो विकासबारे कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले दिगो विकासको मध्यावधि मूल्यांकन गर्नुपर्ने औंल्याए। उनले भने, ‘यसको मध्यावधि मूल्यांकन गर्नुपर्छ। समस्यामा एकाकार हुनुपर्छ। समस्या समाधान लागि एकीकृत भएर अघि बढ्नुपर्छ।’ 
उनले गाउँमा युवाहरुको कमी भएकोप्रति चिन्ता व्यक्त गरे। सांसद पाण्डेले दिगो विकासले युवाहरुको विषय समेत समेट्नु पर्नेमा जोड दिए। उनले विकसित देशका कारण जलवायु परिवर्तनका कारण अविकसित मुलुकहरुले मार खेपिरहेकाले उनीहरुले प्रकृतिको दोहन गरे वापत नेपाल लगायतका मुलुकले न्याय पाउनुपर्नेमा जोड दिए। 
त्यसैगरी एमाले सांसद सुनिता बरालले दिगो विकासका लक्ष्यबारे संसद् र सरकारलाई सन्देश पुर्याउने प्रतिवद्धता गरेकी छन्। उनले भनिन्, ‘तपाईहरुले दिगो विकासका क्षेत्रमा गरेका काम र उपलब्धिबारे हामीलाई विवरण दिनुहोला। त्यसबारे हामी सदन र सरकारलाई जानकारी दिनेछौं।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।