वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी हटाएपछि महानगरको सरसफाइ प्रभावित भएको छ। महानगरपालिकाले सरसफाइका दुई सय ५० जनासहित करिब ६ सय जना कर्मचारीलाई गत २०८० भदौ २६ गतेदेखि एकै पटक सेवाबाट हटाएको थियो।
सरसफाइ कर्मचारी हटाइएपछि महानगरले सुरु गरेको सरसफाइ विशेष अभियान प्रभावित भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए।
सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले नियमित सरसफाइसँगै जथाभावी फोहोर फ्याल्नेलाई जरिवाना गर्दै आइरहेको छ। तर नियमित सरसफाइमा संलग्न कर्मचारीलाई कामबाट हटाएपछि सरसफाइको काम प्रभावित भएको प्रमुख मियाँको भनाइ छ।
‘हामीले मुख्य तथा सहायक गल्लीमा दैनिक तीन पटकसम्म नियमित सरसफाइ गर्नुको साथै जथाभावी फोहर फ्याक्नेलाई जरिवानासमेत गर्दै आएका छौँ,’ उनले भने, ‘यसका कारण सडक सफा भएर शहर सुन्दर बन्न थालेको छ, तर एकै पटक ठूलो सङ्ख्यामा सरसफाइका कर्मचारी नै कामबाट हटाइएपछि अहिले पछिल्लो समय सरसफाइको काम गर्नै सकिरहेका छैनौँ।’
महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ। तर सरसफाइका कर्मचारी हटाइएपछि अब कसरी अघि बढ्नेमा आफूहरु अन्यौलमा रहेको सरसफाइ प्रमुख मियाँको भनाइ छ।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।