भक्तपुर- इन्द्रजात्राको तेस्रो दिन बिहीबार रातभरि भक्तपुरको इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्र देवतालाई विराजमान गराई दीपावली गरी मनाइएको छ।
भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पुर्याएपछि रातभरि मेला लागेको थियो।
भाद्र शुक्ल चतुर्थीको दिन साँझ दीपावली गरी मध्यरातिसम्म मेला लागेपछि भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।
भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरी साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।
नेपाल संवत् २१८ मा शक्तिशाली युवराजको रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उनको भनाइ छ।
इन्द्र दहमा स्नान गरी समय् अर्थात् भोज चढाएर, भाज खाएर यँयापुन्ही मान्ने गर्दछन्। समय् अर्थात् छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रोलगायतका परिकार विशेषरूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमान गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।