भैरहवा- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले बलात्कार घटनाविरुद्ध भैरहवामा प्रदर्शन गरेको छ।
संगठनले भैरहवामा विरोध र्याली सहितको प्रदर्शन गरेको थियो। नगर क्षेत्रमा परिक्रमा गर्दै संगठनले सरकारविरुद्ध ‘केपी तिम्रो नाराले दुःख पाए साराले, अत्यधिक कर वृद्धि फिर्ता गर, महिला हिंसा अन्त्य, बलात्कारीलाई कारवाही गर’ लगायतका नारा लगाएका थिए।
देशमा बढ्दै गइरहेको बलात्कार, छाउपडी, दाइजो घटना लगायतका महिला हिंसाको विषयमा शुक्रबार उनीहरुले ज्ञापनपत्र बुझाएका छन्।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संगठनका अध्यक्ष पदमा थापाले महिला हिंसाको घटनामा दुई तिहाई बहुमतको सरकारले अपराधीलाई संरक्षण प्रदान गरेर अपराध बढाउनमा लागेको गरेको आरोप लगाइन्।
उनले समाजमा अपराध बढाउन स्वयं सरकार नै लागेको कारण अपराधीहरुलाई कानुनी कठघरामा नल्याउँदा अपराधीहरुको मनोबल बढ्दै गएको आरोप लगाइन्।
कञ्चनपुरको बलात्कार घटनाको दोषीलाई कारबाही गर्न, पश्चिमाञ्चलमा रहेका छाउपडी गोठ भत्काउन, बोक्सीलाई १४ वर्ष जेल सजाय व्यवस्था गरी कानुनी कारबाही गर्न लगायतका माग गरिएको संगठनका जिल्ला सदस्य रमिता थापा मगरले बताइन्।
राप्रपा प्रजातान्त्रिक जिल्ला कार्य समितीको समन्वयमा ज्ञापन पत्र बुझाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।