काठमाडौं– नेकपा एमालेको बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। बन्दसत्र सञ्चालनार्थ ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको छ।
गुरु बराल नेतृत्वको अध्यक्ष मण्डलमा शेर बहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई, रामेस्वर फुँयाल, कृष्ण बहादुर राई, सुशिला नेपाल, पार्वत गुरुङ्ग र रत्ना गुरुङ सदस्य छन्।
बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिने छ। यस्तै, आगामी कार्ययोजना समेत बन्दसत्रमा पेस गरिनेछ। प्रतिवेदनमाथि मंगलबार दिउँसो २ बजेबाट समूहगत छलफल हुने जनाइएको छ।
प्रतिवेदनहरुमाथि छलफलपछि मंगलबार साँझदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ। प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु समेत आकांक्षी देखिएका छन्।
अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको दाबी बलियो छ। सर्वसम्मत नेतृत्व चयनको अवस्थामा कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी लगायतले आकांक्षा देखाएका छन्। यस्तै बागमती प्रदेशका पूर्वसभामुख रहेका सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा दाबी कायम राखेका छन्।
सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने नभए भोटिङमा जाने तयारी छ। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर भने प्रतिस्पर्धा गर्न नपाइने चेतावनी दिएका छन्। सोमबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले प्यानल बनाएको थाहा भए प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।