काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार संसदीय समिति र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ। दिउँसो ४ बजे बस्ने बैठकको ठोस अजेण्डा भने तय भइनसकेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।
रास्वपाले हालै राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी र सरकारको कामबारे पनि छलफल गर्ने बताइएको छ। त्यस्तै सरकारका पछिल्ला निर्णयहरुले जनतालाई राहत दिन नसकेको तथा आर्थिक अवस्थाबारे पनि छलफल हुने अजेण्डा रहेको छ।
रास्वपाले राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए। यो निर्णयबाट जन्मकैदको सजाय पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल लगायतले उन्मुक्ति पाएका थिए। नेपाली कांग्रेस निकट रहेका उनलाई जघन्य अपराधमा माफी दिएपछि चौतर्फी आलोचना भएको थियो।
जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरुले स्थानीय अवस्थाबारे ब्रिफिङ गर्ने अजेण्डा पनि रहेको छ। रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो। रास्वपा सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु नै जिल्लामा खटिएका थिए। रास्वपाले पछिल्लो समय २०८४ लाई लक्षित गरी कार्यक्रम चलाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।