काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका भएका सम्झौता र समझदारीहरु समेत समेटेर नेपाल–चीन संयुक्त वक्तव्य जारी भएको छ।
संयुक्त वक्तव्यमा अन्तरदेशीय प्रसारण लाइनदेखि नेपालमा सडक पूर्वाधार निर्माण अगाडि बढाउने विषयमा सहमति भएको जनाइएको छ।
सोमबार बेइजिङमा प्रधानमन्त्री प्रचण्ड र उनका चिनियाँ समकक्षी लि छ्याङबीच द्विपक्षी भेटवार्ता भएको थियो। द्विपक्षीय भेटवार्तामा दुई देशबीच सडक, रेल, उर्जा लगायतका पूर्वाधारको विकासमा सहकार्य गर्ने सहमति भएको थियो।
मंगलबार जारी भएको संयुक्त वक्तव्यमा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको जनाइएको छ। चीनको जिलोङ (केरुङ)–रसुवागढी–चिलिमे २२० केभी क्रसबोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गर्ने सहमति भएको हो।
यस्तै, अरनिको राजमार्गको चौथो चरणको विस्तार, काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तार काम सुरु गर्ने लगायत सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ।
चीनले स्याफ्रुबेसी–रसुवागढी राजमार्ग मर्मत सुरु गर्ने संयुक्त वक्तव्यमा उल्लेख छ। यस्तै, टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीब्रता दिने सहमति पनि भएको छ।
दुई देशबीच केरुङ–काठमाडौं क्रस बोर्डर रेलवेको संभाव्यता अध्ययनमा पनि सहमति भएको छ। यस्तै, नेपामा रेलसम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि चीनले सहयोग गर्ने समझदारी पनि भएको छ।
नेपालको उत्तरी क्षेत्रमा चीनबाट विद्युत् आपूर्ति गर्ने विषयमा नेपालले गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ।
यस्तो छ संयुक्त वक्तव्य:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।