काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता आफूहरुकै आन्दोलनबाट स्थापित भएकोले अरुलाई दोष दिन आवश्यक नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्।
‘चालीस वटाभन्दा बढी कानुन बनाउन बाँकी छ। हामीले (संघ) ले गर्नुपर्ने काम नगरेर हामी आफैँले आन्दोलनबाट स्थापित गरेर ल्याएको प्रणालीलाई असफल बनाउने बाटोतिर लागेर कसलाई दोष दिँदैछौँ?,’ थापाले भने।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केही केन्द्रीय सदस्यले संघीयता अरुले थोपरेको अजेण्डा भएकाले कांग्रेसले छोड्नु पर्ने मत राखेका थिए।
महामन्त्री थापाले २०६२/६३ को आन्दोलनअघि नै तत्कालीन नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले निर्णय गरेर र तत्कालीन कांग्रेस प्रजातान्त्रिकले पार्टी महाधिवेशनबाटै संघीयतामा जाने निर्णय गरेको स्मरण गर्दै थापाले तथ्यलाई तोडमोड नगर्न समेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।