हाङ्जाउ (चीन)- १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुवात गरेको छ। १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्। अन्य खेलाडीले खेल्न बाँकी छ।
सोमबार सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन्। पुरुष ५८ किलोमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भएका हुन्। उनी ४–१२ र २–० अंकले पराजित भए।
यसैगरी महिला ४९ किलोमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित भइन्। उनी थाइल्याण्डकी खेलाडीसित १२–० तथा १०–० अंकले पराजित भइन्। तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रिक्वाटर फाइनल प्रवेश गरेकी थिइन्।
यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरुषतर्फ प्रेमबहादुर लिम्बु र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसकेका छन्। एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरुषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ।
यसअघि नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य पदक प्राप्त गरेको थियो।
रग्बीमा पनि नेपाल बाहिरियो
यसैबीच एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ। समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए। नेपालले समूह चरणको तीनै खेलमा हार बेहोरेको छ।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।