काठमाडौं– फिल्म ‘नाङ्गो गाउँ’को सिक्वेल पनि बन्ने भएको छ।
फिल्मका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबिच फिल्मको सिक्वेल बनाउने विषयमा सहमति भएको हो।
‘अ पोलिटिकल कमब्याक’ अर्थात् एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित फिल्म ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरिएको हो। फिल्मको सिक्वेलमा दयाहाङ राइले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथालाई समावेश गरिनेछ।
‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौँ, उहाँहरूले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ,’ निर्माता कडरियाले भने, ‘हामीले पहिलो भागको छायांकनको दौरानमै दोस्रो भागको परिकल्पना गरेका थियौँ। अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामीले यसको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौँ।’
फिल्मका लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन्। भन्छन्, ‘अहिले फिल्मको कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो हुनपुग्यो र हामीले दुई भागमै बनाउने सोच्यौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।