ओखलढुङ्गा– ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ। गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अंग्रेजी र सामान्य ज्ञान समेटिएको पुस्तक प्रकाशन गरेको हो।
गाउँपालिकाभित्रका धार्मिक पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको जानकारी समेटिएको पुस्तक प्रकाशन गरेर पालिकाभित्रका सबै विद्यालयमा अनिवार्य अध्ययन अध्यापन गराउनुपर्ने गरी लागू गरिएको गाउँ शिक्षा समिति संयोजक उज्ज्वन बुढाथोकीले जानकारी दिए।
‘स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर स्थानीय भाषा र विषयवस्तु समेटिएको पुस्तक प्रकाशन गरेर लागू गर्न पाउने नियम छ’, अनुगमन समितिका संयोजकसमेत रहेका बुढाथोकीले भने, ‘शैक्षिक सुधारको अभियानअन्तर्गत पाठ्यपुस्तक प्रकाशन गरेर लागू गरिएको हो।
यसले स्थानीय अवस्थाबारे पनि जानकारी दिनेछ र अध्ययन अध्यापनमा पनि सहजता ल्याउने छ ।’ प्रकाशित पाठ्यपुस्तक उक्त गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा निःशुल्क पठाइएको उनको भनाइ छ।
चालु शैक्षिक सत्रमा कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू भएको र आगामी शैक्षिक सत्रदेखि क्रमशः माथिल्लो कक्षामा स्थानीय पाठ्यपुस्तकमार्फत पठनपाठन हुने गाउँपालिका अध्यक्ष नवराज केसीले बताए। ‘सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास घट्दो छ। यो अवस्था सुधारका लागि हामी प्रयास गरिरहेका छौँ’ अध्यक्ष केसीले भने, ‘दुई वर्षभित्रमा चम्पादेवीका सबै सामुदायिक विद्यालय नमूना बनाउने गतिमा काम भइरहेको छ।’
उक्त गाउँपालिकाभित्रका ४२ विद्यालयमा कक्षा एकमा पढ्ने करीब ५ सय ५० विद्यार्थी छन्। उनीहरू सबैले यस वर्ष स्थानीय विषयको पुस्तक पढ्न सुरु गरेका छन्।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ। प्रकाशित स्थानीय विषयको पाठ्यपुस्तक र शैक्षिक क्यालेण्डर गाउँपालिका अध्यक्ष नवराज केसीले लागू भएको घोषणा गरेका छन्।
उक्त गाउँपालिका स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेर लागू गर्ने जिल्लाको पहिलो स्थानीय सरकार हो। शैक्षिक विकास र गुणस्तर सुधारका लागि १५ बुँदे कार्यक्रम तय गरेर काम गरिरहेको पनि बताइएकोे छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।