काठमाडौं– ‘विवादास्पद’ प्रकियाबाट मुख्यमन्त्री भए पनि सर्वोच्च अदालतले प्रक्रियालाई बदर गरेसँगै पदमुक्त भएका कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दलको नेताबाट राजीनामा माग भएको छ। देउवा-सिटौला पक्षका नेता थापालाई कोइराला समूहबाट राजीनामा माग भएको हो।
दुई पटककै नियुक्तिलाई सर्वोच्चले बदर गरेकाले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने उक्त समूहको माग छ।
कोइराला समूहका नेता केदार कार्की र थापाले संसदीय दलको नेताका लागि गत पुसमा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। थापाले १८ मत ल्याउँदा कार्कीले ९ मत पाएका थिए। कोशीमा कांग्रेसका २७ सांसद छन्। थापाले देउवा समूहको पनि साथ थियो। उक्त साथ अहिले पनि जारी छ।
नेपाल लाइभसँग कुरा गर्दै कोइराला पक्षका एक नेताले थापालाई सो पदमा बस्न नैतिकता बाँकी नरहेको बताएका छन्।
‘नैतिकताका हिसाबले पनि उहाँ सो पदमा बस्न उपयुक्त रहन्न। उहाँले निकास दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ नाम नखुलाउने शर्तमा ती सांसदले भने।
संसदीय दलका नेता थापा भने आफूलाई कसैले राजीनामा नमागेको दाबी गर्छन्। उनी भन्छन्, ‘म स्पष्ट रुपमा ६६ प्रतिशत मतले निर्वाचित भएको नेता हुँ। कसैले राजीनामा माग्ने आधार पनि छैन र बाहिर आए जस्तो माग पनि आएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।