काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नेता कोइरालले शिक्षकका मागहरु सम्बोधन गर्न आग्रह गरेका हुन्।
‘शिक्षकहरुका मागहरु केही व्यवहारिक, कानुनी र संवैधानिक छन्। दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ। व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न। यस्ता मागहरु तुरुन्त सम्बोधन गरौं,’ नेता कोइरालाले लेखेका छन्।
साथै कोइरालाले शिक्षकसँग आजै सहमति गर्न पनि आग्रह गरेका छन्।
‘कानुनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मुल्याङ्कन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याउँ,’ कोइरालले लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहनुभएका शिक्षकहरु आज विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य हो।’
नेता कोइरालाले सरकारलाई जिम्मेवार बन्न पनि आग्रह गरेका छन्। उनले अघि लेखेका छन्, ‘यस्ता संवेदनशील बिषयमा सरकार जिम्मेवार बनोस् र तुरुन्त समस्या समाधान गरोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।