काठमाडौं– सरकारले आन्दोलित शिक्षकहरुको माग पूरा गर्ने गरी छलफल भइरहेको बताएको छ। जारी वार्ता निष्कर्षमा पुग्ने न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताएका छन्।
शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका छन्। मन्त्रीहरुसँगको छलफलपछि शिक्षकका नेताहरुसँग वार्ता जारी छ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने बताए। उनले आज छलफल निष्कर्षमा पुग्ने बताए।
मन्त्री गुरुङले भने, ‘शिक्षक साथीहरुका बुँदाहरुमा हामीले बुँदागत रुपमा नै बसेर छलफल गरेका छौँ। अब शिक्षक साथीहरुका प्रतिनिधिसँग बसेर अन्तिम टुंगो लगाउने छौँ। उहाँहरुले राखेका विषयमा हामीले हिजोदेखि नै छलफल गरेका छौँ। अब उहाँहरुसँग बसेर छलफल गरी टुंगो लगाउँछौँ। आज टुंगिन्छ।’
मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ। यसअघि बिहीबार पनि २ पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन। शिक्षकहरू बुधबार यता आन्दोलनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।