काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नयाँ मुलुकी ऐन संशोधन गर्नुपर्ने मागका सम्बन्धमा कानुन मन्त्रीसँग विशेष छलफल गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन्।
सभामुख महराले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग बिहीबार भएको भेटमा नयाँ मुलुकी ऐन संशोधनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालसँग विशेष छलफल गर्न आग्रह गरेका हुन्। उनले संसदबाट पास भइसकेको सो कानुन संशोधन गर्ने काम कानुन मन्त्रालयको भएको पनि स्मरण गराए।
त्यस अवसरमा नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल हुने गरी आएकाले संशोधनका लागि पहल गरिदिन आग्रह गर्दै सभामुख महरालाई ज्ञापन पत्र बुझाएको थियो।
सभामुख महराले कानुन मन्त्री ढकालले चाहेमा मात्रै सो कानुन संशोधन गर्न सकिने स्पष्ट पारे। उनले ‘वैयक्तिक गोपनियताको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०७५’ संघीय संसदमा पेस गरिएकाले त्यसमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान रहन नदिन आफू सचेत रहेको पनि बताए।
नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा पत्रकारहरुलाई गम्भीर अभियोग लगाउन सक्ने प्रावधान पनि राखिएको भन्दै तत्काल संशोधन गर्न सरकारलाई दबाव दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।