काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले ‘खाद्य स्वच्छता अभियान’ प्रभावकारी बनाउन मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।
भदाैं अन्तिम साताबाट देशव्यापी रूपमा संचालन गर्न लागिएको खाद्य स्वच्छता अभियानलाई प्रभावकारी बनाउन मातहतका निकायलाई मन्त्री खनालले सचेत गराएका हुन्।
उक्त अभियानबारे बिहिबार मन्त्रालयमा सम्बन्धित निकायसँग भएको छलफलमा शुद्ध खाद्यवस्तु उपयोग गर्न पाउने जनताको मौलिक हकलाई हनन हुन नदिन गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
खाद्य सुरक्षाका लागि नियमन गर्ने सरकारी निकाय आफैं प्यारालाईसिस लागेको जस्तो हुन नहुने मन्त्री खनालको भनाई छ।
मन्त्री खनालले चालू आर्थिक वर्ष भित्र खाद्य सुरक्षाका लागि आवश्यक कानुनी व्यवस्था गरिसक्ने योजना पनि अघि सारेका छन्। खाद्य अधिकारलाई प्रत्याभूति गराउन सरकारले काम गरेर देखाउने बेला आएको पनि धारणा उनले राखे।
सरकारले भदौं अन्तिमबाट देशभर खाद्य स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ। अभियानलाई प्रभावकारी बनाउन केन्द्रमा प्रधानमन्त्री केपी ओली र प्रदेशमा प्रदेशका मुख्य मन्त्रीले सो अभियानको शुभारम्भ गर्ने तयारी गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनालले खाद्य सुरक्षाका लागि सरकारले कठोर नीति लिने घोषणा पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।