काठमाडाै-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने बताइन ।
राष्ट्रिय युवा परिषद्को नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले लाखौं युवालाई देशभित्रै उत्पादन र सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताइन ।
‘एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीब्रताका साथ अघि बढ्नेछौं भने अर्कोतिर देशभित्र लाखौं युवा उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रिय तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौं’ उनले भनिन् ‘तसर्थ, आजको यो महत्वपूर्ण कार्यक्रममार्फत म आम युवालाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु ।’
सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालमै पहिलोपटक साइबर सुरक्षा नीति पारित भएको बताइन। ‘यो नीति पारित भएसँगै साइबर सुरक्षा केन्द्र र साइबर सुरक्षा कानुन बनाउने बाटो खुलेको छ उनले भनिन् अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि, साइबर सुरक्षा, डाटा सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि कानुन मस्यौदाको क्रममा रहेको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।