काठमाडौं- शिक्षा र विज्ञानको शिक्षणमा लामो समय बिताएका डा. सुरेन्द्र सिटौला कविता सङ्ग्रहमा देखिएका छन्। 'देश र परिवेश’ नामक उनको काव्यकृति लोकार्पण भएको छ। देश, समाज, इतिहास, राजनीति, शिक्षा, दर्शनजस्ता विभिन्न विषय र समकालीन नेपालको अवस्थालाई समेट्ने ५२ वटा कविताहरूको संकलनलाई उनले कृतिको रुप दिएका हुन्।
कविता सङ्ग्रहमा नेपालको इतिहासदेखि वर्तमानसम्मका विभिन्न सवाल समेटिएको छ। कविताका केन्द्रबिन्दुमा देश र समाजको चित्र प्रस्तुत छ। लामो समयसम्म विज्ञानको प्राध्यापन र शिक्षाको क्षेत्रमा लामो समयदेखि संलग्न डा. सिटौलाका फुटकर कविताहरू धेरै प्रकाशन भएपनि सङ्ग्रहका रूपमा भने यो पहिलो कृति हाे।
कविता संग्रह लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेती, ९० वर्षिया आमा मनमाया सिटौला तथा दुई बालिकाले कृतिको विमोचन गरेका थिए। प्रमुख अतिथि कुलपति उप्रेतीले सङ्ग्रहमा समावेश भएका कविताले देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक अवस्थाको चित्रण गरेको उल्लेख गरे।
कवि डा. सिटौलाले सङ्ग्रहमा समाजमा देखिएका र देश–कालमा भोगेका कुरालाई कवितामा उतार्ने प्रयास गरेको उनले उल्लेख गरे। साहित्यकार अशेष मल्लले कविता संग्रह नेपाली साहित्यको इतिहासमा एउटा अर्को दस्तावेज भएको बताए।
प्रा.डा. बद्रीविशाल भट्टराईले सिटाैलाको साहित्य साधनाले मूर्तरुप लिएको बताए। स्रष्टा र सिर्जनाबारे बोल्दै सञ्चारकर्मी रमेश खड्काले सिटौलाको जीवनमा विज्ञान, शिक्षा र साहित्यको संगम रहेको र काव्य साधनामा वहाँको लामो निरन्तरता संग्रहका कवितामा पोखिएको बताए।
'यस सङ्ग्रहका कवितामा सिटौलाले सुस्पष्ट र हृदयस्पर्शी शैलीमा देशलाई सचेत गराइरहेका छन्' कविता सङ्ग्रहबारे राष्ट्रकवि माधव प्रसाद घिमिरेले भनेका छन्। बागमती बोर्डिङ्ग स्कुल, सुकेधारा, काठमाडौंले कार्यक्रमको आयोजना गरेको हो।
लोकार्पण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा व्यक्तित्वहरू सहभागी थिए। धेरैजसाे कविता राष्ट्र र राष्ट्रियता, स्वतन्त्रता, खुशी, सपना, इतिहास, पहिचान, आप्रवासन, शिक्षा, चुनाव, लैंगिकता, यात्रा, युद्धलगायतका विषयमा लेखिएका कविता संग्रहमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।