काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदैछन्। साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्।
शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रसंघको महासभामा मुख्यगरी दुईवटा विषयमा आफ्नो कुरा राख्ने बताएका छन्। जलवायु परिवर्तन र टुंगिन बाँकी शान्ति प्रक्रियाका विषयबारे कुरा राष्ट्र संघमा राख्ने जानकारी उनले दिए।
उनले अहिले जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकमा अझ बढी परिरहेको बताउँदै यसबारे राष्ट्रसंघमा कुरा राख्ने उनले बताए। उनले भने, 'जलवायु परिवर्तनको असर सबैभन्दा बढी हाम्रो जस्तो देशलाई, हिमालय पर्वत श्रृंखलाको देश हुनुका नाताले हाम्रा सेता हिमाल पग्लिए काला हुँदै गएका छन्। हामी आफैले अनुभूति र अनुभव गरेका छाैँ बाढी कतिबेला आउँछ, पहिरो कसरी जान्छ, प्राकृतिक विपदको स्तर किन यस्तो भएको छ। त्यसको कारण जलवायुमा आएको परिवर्तन हो।' साे जलवायु परिवर्तनका विषय राष्ट्रसंघमा उठाउने उनले बताएका हुन्।
यसैगरी शान्ति प्रक्रियाका बाँकी काम टुंगाउन पनि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने जानकारी उनले दिए। उनले नेपाललाई अहिले शान्ति प्रक्रियाका बाँकी काम टुंगाउन अन्तराष्ट्रिय समुदायको सहयोग चाहिएको बताउँदै त्यसका लागि अपिल गर्ने बताए।
नेपालको स्वाधीनता, राष्ट्रिय एकता, भौगोलिक एकता, छिमेकीसँगको सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूसँग सम्बन्धमा विशेष ध्यान दिनुपर्ने बेला भएको उनकाे भनाइ थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।