हेटौँडा- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री प्रचण्डले सो अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। प्रधानमन्त्री दाहालले सो प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढंगले अभिव्यक्ति नदिएकोमा थापाले असन्तुष्टि जनाए।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए। पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसदमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले सो घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।
यस्तै हेटौँडाको सञ्चो अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग उनले माग गरे। उनले भर्खरै संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धि ऐन अनुसार सो दुवै घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए। नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर र कान्ति बाल अस्पतालका घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।