काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन्। शुक्रबार काठमाडौंको नयाँबानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईआई सिनेमा हलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अर्थतन्त्र यो भन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताए। व्यवसायिक गतिविधि बढे मात्रै अर्थतन्त्र चलायमान बन्ने उनको भनाइ थियो। कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यवसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास उनले व्यक्त गरे।
‘अहिले कता कता मान्छेहरूलाई पब्लिक कन्फिडेन्स नभइरहेको बेलामा अब आउने दिनमा उत्साहजनक हिसावले बढ्छ भन्ने सन्देश गएको छ, व्यवसायिक एक्टिभिटिज जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ,’ उनले भने, ‘अब आउने दिन राम्रो हुनेछ। यो भन्दा डिस्ट्रोइट हुने अवस्था छैन। अब आउने दिन इकोनोमिक एक्टिभिटी बढ्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।