काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।
शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले सर्वसम्मत रुपमा शर्माको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन गरेको हो। संसदीय सुनुवाइबाट अनुमोदन भएका शर्मालाई अब राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन्। शर्माले प्रधानन्यायाधीशबाट शपथ लिनेछन्।
यसअघि गरेको सिफारिसमा कुनै निर्णय नभएपछि न्याय परिषद्ले दोस्रोपटक उनको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो। उक्त सूचनापछि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ सुरू गरिएको हो।
ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाइ समितिमा पत्र आएपछि रोकिएको थियो।
तत्कालीन समयमा शर्मासहित ३ जनाको नाम सिफारिस भएको थियो। तर पछिल्लो पटक शर्माको नाममात्र सिफारिस भएको थियो। उनी करिब १ वर्ष सर्वोच्चमा कार्यरत हुनेछन् भने प्रधानन्यायाधीश हुने छैनन्।
शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो अजेन्डा र कार्यपत्र पेस गर्दै उनले आम नागरिकबाट अपेक्षा गरिएको न्याय प्राप्त गर्नका लागि आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए। आफू न्याय सम्पादनमा रहँदा इमान्दार भएर न्याय सम्पादनको प्रयास गर्ने पनि शर्माले प्रतिबद्धता व्यक्त गरे।
कुनै न्यायाधीशलाई उसको आचरण र व्यवहारले ‘वास्तविक न्यायाधीश’ बनाउने बताउँदै उनले आफू त्यसको दायरमा रहने बताए। शर्माले तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति आफ्नो पूर्ण प्रतिबद्धतासमेत रहेको बताए।
न्यायपालिका प्रतिको निष्ठा र आस्था न्यायाधीशको आचरण र व्यवहारबाट प्रदर्शित हुने विषय भएको भन्दै उनले स्वतन्त्र न्यायपालिकाको अवधारणाको आलोकमा तयार भएको मिलान घोषणापत्र अनुकूल हुने गरी तयार भएको न्यायाधीशहरुको आचारसंहिताद्वारा निर्देशित रही स्वच्छ, सक्षम, निष्पक्ष, तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति आफू पूर्ण प्रतिबद्ध रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।