काठमाडौं- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मामाथि संसदीय सुनुवाइ सुरु भएको छ।
यसअघि गरेको सिफारिसमा कुनै निर्णय नभएपछि परिषद्ले दोस्रो पटक उनको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो। उक्त सूचनापछि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ सुरू गरिएको हो।
ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाइ समितिमा पत्र आएपछि रोकिएको थियो।
तत्कालीन समयमा शर्मासहित तीन जनाको नाम सिफारिस भएको थियो। तर पछिल्लो पटक शर्माको नाममात्र सिफारिस भएको थियो। उनी करिब १ वर्ष सर्वोच्चमा कार्यरत हुनेछन् भने प्रधानन्यायाधीश हुने छैनन्। उनीमाथि कुनै उजुरी नभएकाले सर्वसम्वत रुपमा अनुमोदन हुने देखिन्छ ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ। सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गर्नेछन् भने प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले शपथ खुवाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।