काठमाडाैं- प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि थप अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ ।
बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयकमाथि अध्ययन गरी आवश्यक सुझाव दिन उपसमिति गठन गरिएको हो। उक्त समितिमा अनिलकुमार झा, आशाकुमारी विश्वकर्मा, केदार सिग्देल, दुर्गा पौडेल, राजेन्द्रप्रसाद लिङदेन, मिनाक्षी झा र हरिनारायण रौनियार सदस्य रहेका छन् ।
उपसमितिले तयार पारेको सुझाव तथा प्रतिवेदनका आधारमा ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ परिमार्जन गरी प्रतिनिधिसभामा पठाउन लागिएको समितिका जेष्ठ सदस्य जिपछिरिङ लामाले जानकारी दिए।
बैठकमा समितिका सदस्यले सबै नागरिकका लागि आवास अधिकार सुनिश्चित हुने गरी कानुनी व्यवस्था गर्न आवश्यक संशोधन गर्नुपर्ने प्रस्ताव राखेको थिए। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विधेयक महत्वपूर्ण भएकाले यसको गहन अध्ययन गरेर आवश्यक परिमार्जन गर्नुपर्ने आवश्यकता रह्को जानकारी दिए।
समितिका अर्का सदस्य नेकपाका सांसद कृष्णभक्त पोखरेलले आवास पाउने नागरिकको अधिकारलाई कटौती नहुने गरी सरकारले विधेयक ल्याएको बताए। विधेयकमा आवासविहीन नागरिकलाई आवासको सुनिश्चित गर्न विशेष कानुनी व्यवस्था गर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।