काठमाडौं– गत पुसमा बजारमा जिराको मूल्य प्रतिकिलो ४५० रुपैयाँ थियो। माघमा मूल्य बढेर ५५० रुपैयाँ पुग्यो। त्यतिबेला नेपाल खुद्रा व्यापार संघले पनि जिराको थोक मूल्य प्रतिकिलो ५५० रुपैयाँ तोकेको थियो। चैतसम्म उही मूल्य कायम थियो।
तर वैशाखमा जिराको मूल्य फेरि उकालो लाग्यो। खुद्रा व्यापार संघले नै प्रतिकिलोमै ३ सय रुपैयाँ बढाएर ८५० रुपैयाँ पुर्याएको थियो। जेठमा ९५० रुपैयाँ पुगेको खुद्रा व्यापार संघको मूल्य सूचीमा उल्लेख छ। तर बजारमा भने व्यापारीहरूले जिरामा दोब्बरभन्दा बढी मूल्य असुल गर्न थालेका थिए। गत जेठदेखि नै बजारमा जिरा प्रतिकिलो १ हजार ३५० रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ।
भदौ १ गतेको खुद्रा व्यापार संघको मूल्य सूचीमा जिराको मूल्य प्रतिकिलो १ हजार २५० रुपैयाँ तोकिएको छ। तर यतिबेला संघले उक्त जिराको मूल्यसूची हटाएर सुरज जिरा नामकको मूल्य प्रतिकिलो ३६५ रुपैयाँ तोकेको छ।
संघकी एक कर्मचारी ज्योति थापाले संघमा बजारमा भएकोभन्दा फरक खालको जिरा भएकाले सस्तो पर्ने बताइन्। ‘यो बजारकोभन्दा फरक भएर हो। बजारमा थुप्रै प्रकारका जिरा आउँछन्। खुला रुपमा बिक्री गरिने जिरा सस्तो पर्न गएको हुनसक्छ,’ उनले भनिन्।
यस्तै उनले होलसेलमै जिराको मूल्य बढेर प्रतिकिलो १ हजार २२५ रुपैयाँ पर्ने बताइन्।
जिरा ठूलो परिमाणमा भारतबाट आउने गर्दछ। अहिले भारतमा उत्पादन घटेको र उतैबाट महँगो भएर आएको व्यापारीहरू बताउँछन्। जिरा मात्र होइन। अहिले बजारमा आटा, चिनी र चामल समेत महँगिएको छ। एक महिनाअघि १८० रुपैयाँमा पाइने २ किलोको प्याकेट आटा अहिले २०५ प्रतिप्याकेट पर्न थालेको पाइएको छ।
गत असारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनी साउनदेखि १० रुपैयाँले बढेर प्रतिकिलो १२० रुपैयाँ पुगेको छ। संघको भदौको पहिलो साताको मूल्य सूचीमै चिनीको मूल्य १०५ रुपैयाँ उल्लेख छ। तर अन्तिम सातातिर आइपुग्दा संघमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ उल्लेख छ।
बजारमा भने अहिले चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँ नै कायम छ। चाडपर्वको मुखमा यसरी मूल्य आकाशिनुको कारणबारे भने सम्बन्धित निकाय जवाफदेही हुन सकेको छैन। यसमा सरकार समेत मौन छ।
नेपालीको भान्सामा नभई नहुने चामल साउनदेखि नै महँगिएको हो। गत साउन ४ गतेदेखि भारतले बासमती बाहेकका (मोटा जातका ह्वाइट राइस/अरुवा चामल) निर्यातमा प्रतिबन्ध घोषणा गरेको थियो। त्यसको २/४ दिनमै नेपाली बजारमा महँगी बढ्न थाल्यो। व्यपारीहरूले पुरानै स्टक चामलको मूल्य बढाएर बिक्री गर्न थालेपछि सरकारले बजार अनुगमन केही दिनका लागि कडाइ त गर्यो। तर त्यसलाई निरन्तरता दिएन।
पुरानै स्टक चामललाई महँगोमा बिक्री गर्ने व्यापारीलाई सरकार मातहतको वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको दायरामा ल्याउन थाले पनि बजारमा मूल्य घट्न सकेको थिएन। फेरि भारतले गत भदौ ८ गते सबै प्रकारका उसिना चामल निर्यातमा २० प्रतिशत भन्सार लगायो। त्यसपछि बजारमा चामलको भाउ घटेन, बरु बढ्दै गयो।
अहिले बजारमा २५ केजीको जिरा मसिनो चामलमा प्रतिबोरा २ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्म बढेको छ। पहिला २१ सय रुपैयाँ प्रतिबोरा पर्ने चामल अहिले २२ सय ५० रुपैयाँदेखि २ हजार ३५० रुपैयाँसम्म पुगेको छ। यस्तै २ हजार २०० रुपैयाँ पर्ने चामल प्रतिबोरा २ हजार ४५० रुपैयाँ पुगेको छ।
अनुगमन कडाइ गर्नुपर्ने बेला कर्मचारीको सरुवा
झारा टार्ने हिसाबमा विभागले दैनिक अनुगमन गरिरहेको देखिन्थ्यो। सधैँजसो अनुगमनका क्रममा केही खाद्य पसलहरूले बिलबिजक नराखी बिक्री गरेको पाएपछि ती खाद्य पसललाई कारबाही गरेको तथ्यांक विभागले आफ्नो वेबसाइटमा उल्लेख गर्दै आएको थियो। अनुगमन गरी कारबाही समेत गरेता पनि सरकारले मंगलबार विभागमा महानिर्देशक गजेन्द्र ठाकुर र अनुगमन शाखा प्रमुख होमनाथ भट्टराईलाई समेत मन्त्रालयमा सरुवा गरेको छ।
दसैंको मुखमा बजार अनुगमनलाई थप कडाइ गर्न निर्देशन गर्नुपर्ने सरकारले उल्टै विभागका कर्मचारीलाई सरुवा गरेको उपभोक्ता अधिकारकर्मीहरूको गुनासो रहेको छ। चाडपर्वको बेलामा बजारमा कालोबजारी बढ्ने, ठगी बढ्नाले बजार अनियन्त्रित हुने सम्भावना रहन्छ। यो बेलामा सरकारले बजार अनुगमन गर्ने निकायलाई कडाइ गर्न निर्देशन दिनुपर्ने उपभोक्ता अधिकारकर्मी जयप्रसाद पौडेल बताउँछन्।
‘बजार व्यवस्थापन गर्ने ठूलो संयन्त्र अनुगमन हो। अनुगमनले बजारलाई सिस्टममा राख्न मद्दत गर्छ। सेवा प्रदायक, बिक्रेता र उत्पादनकर्ताले कसरी सेवा दिइरहेको छ, उपभोक्ताको अधिकार कसरी हनन् भइरहेको छ, ठगी भएको छ वा छैन भन्ने कुरा थाहा पाउन अनुगमन आवश्यक छ।,’ पौडेलले भने।
सरकारले अनुगमनको निकायका कर्मचारी सरुवाबढुवा गर्न भन्दा बजार व्यवस्थापनमा कडाइ गर्नुपर्ने पौडेल बताउँछन्।
कुनै पनि वस्तु तथा सेवाको मूल्य निर्धारण गर्ने सरकारका दायित्व रहने उपभोक्ता हित संरक्षण ऐनमा रहेको तर सरकारले त्यो ऐनको उपयोग नगर्दा बजार अव्यवस्थित भई उपभोक्ता मारमा परिरहेको उनी बताउँछन्।
‘तोकिएको मूल्यभन्दा बढी मूल्य लिइन्छ भने त्यो एउटा अपराध हो। उपयोग बढ्ने बेलामा महँगी बढाउनु भनेको त्यहाँ चलखेल हुन्छ। यहाँ कुनै राजनीतिक पार्टीसँग कनेक्सन भएको हुन्छ। राजनीतिक पार्टीको कनेक्सनमा सरकारको कुनै न कुनै कनेक्सन हुन्छ। त्यसैले महँगी बढ्दा पनि सरकार सरकारले व्यवास्था गरिरहेको हुन्छ,’ पौडेलले भने।
भारतबाटै महँगिएर आयो- व्यवसायी
खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले चामल, जिरालगायतको मूल्य भारतबाटै महँगो भएर आएकाले नेपालमा पनि महँगिएको बताए।
‘अहिले चामल, जिरा भारतबाटै महँगिएर आएको छ। कही समयअघि त भारतले गहुँ निर्यातमा प्रतिबन्ध नै लगाएको थियो। अहिले गहुँ महँगो भएर आएको छ त्यसैले आँटा महँगो पर्न जान्छ,’ श्रेष्ठले भने ‘अहिले भारतले विभिन्न वस्तुमा प्रतिबन्ध लगाउने तथा भन्सार शुल्क बढाउँदा महँगी बढेको छ। अब खाद्यसंकट समेत आउने अवस्था देखिएको छ। महँगी रोक्न सरकारले निर्णय गर्नुपर्ने हो। तर सरकार नै वेवास्ता गरिरहेको छ।’ चिनी भने के कारणले महँगियो भन्नेबारे आफू जानकार नरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।