काठमाडौं- असोज ६ गतेदेखि २१ गतेसम्म हाङझाउमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिता हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन जाने भएका छन्। बिहीबार प्रतियोगितामा सहभागी हुन लागेका २५३ जना खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ गर्दै उनले आफू खेल हेर्न चीन जाने बताएका हुन्।
१९ औँ एसियाली खेलकुदमा विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष खेलाडी सहभागी हुँदैछन्। उक्त प्रतियोगितामा खेलाडीको मनोबल बढाउन आफू चीन जाने प्रधानमन्त्री प्रचण्डले बताएका हुन्।
उनले भने, ‘म आफूसमेत प्रतियोगिता हेर्न चीन भ्रमणमा जाँदैछु। त्यसले तपाईहरूको मनोबल बढाउन र खेल कुटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु।’
यसैगरी उनले यसअघि घोषणा भएका पुरस्कार खेलाडीलाई चाँडै दिलाउने पनि प्रतिबद्धता समेत जनाए। ‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ। छिट्टै यो समस्या समाधान गरिनेछ,’ उनले भने, ‘तपाईंहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईहरूमा आग्रह गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।