काठमाडौं- १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ गरेका छन्। असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङझाउमा हुने खेलकुदमा सहभागी हुने खेलाडीलाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले बिदाइ गरेका हुन्।
उनले यसअघि घोषणा भएका पुरस्कार खेलाडीलाई चाँडै दिलाउने पनि प्रतिबद्धता गरे। ‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ। छिट्टै यो समस्या समाधान गरिनेछ,’ उनले भने, ‘तपाईंहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईहरूमा आग्रह गर्दछु।’
विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडी प्रतिस्पर्धामा सहभागी हुँदैछन्। नेपालबाट पहिलोपटक यति ठूलो संख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगिताका लागि प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण सफलता हासिल गर्नेमा आफू विश्वस्त भएको बताए।
नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको बताउँदै यसपटक पनि राम्रो गर्ने विश्वास व्यक्त उनले गरे।पछिल्लोसमय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको भन्दै उनले आफूलाई गौरवको अनुभूति भएको बताए। उनले भने, ‘तपाईंहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ। मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ।’
एसियाली खेलकुद प्रतियोगिताका लागि तीन चरणमा खेलाडी छनोट गरिएको थियो। छनोटमा परेका खेलाडीहरू साढे दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।