काठमाडौं– बिहारको मुजफ्फरपुरमा बिहीबार बागमती नदीमा ठूलो दुर्घटना भएको छ। ३३ जना व्यक्ति सवार डुंगा डुबेको हो।
डुंगामा अधिकांश स्कुले बालबालिका थिए। दुर्घटना बिहान सवा ९ बजे गायघाट थाना क्षेत्रको बेनीबाद ओपीमा भएको हो।
अहिलेसम्म २० जनालाई बाहिर निकालिएको छ। नदीको तीव्र बहावमा १३ जना बेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी राखिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार नदीमा बहाव तीव्र भएका कारण डोरीको सहारामा डुंगालाई नदी पार गराइँदै थियो। अचानक सबै डोरी चुँडिएपछि नदीमा डुंगा पल्टिएको थियो।
गाउँमा पुल नभएका कारण बालबालिका र आसपासका कैयौं मानिस यसरी नै वारपार गर्ने गर्दथे। गायघाट र बेनीबाद प्रहरीका साथ एसडीआरएफ र एनडीआरएफको टिम समयमै पुगेको थियो।
यता मुजफ्फरपुरमा एसकेएमसीएचमा नवनिर्मित भवन उद्घाटनमा पुगेका मुख्यमन्त्री नीतीश कुमारले हताहत भएका परिवारलाई सरकारका तर्फबाट राहत उपलब्ध गराइने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।