काठमाडौं- प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको बताउँदै कुनै पनि बहानामा चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न उनले माग गरेका छन्।
डा विकास थापा र डा प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा बुधबार आक्रमण भएको थियो। गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो।
तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्ट माथि शंका लाग्यो र उनीहरुले अन्यत्र लैजाने भनेपछि अस्पताले पनि २३ साउन अर्थात् भोलिपल्ट डिस्चार्ज गरिदियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो। सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने भएको आरोप मृतकका परिवारको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।