काठमाडौं– संविधान सभाका अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङले दागबत्ती दिए।
नेम्वाङको दाह संस्कारका बेला नेपाली सेनाको एक टुकडीले शोक धुन बनाएर सम्मान अर्पण गर्यो। नेम्वाङको सम्मानमा नेपाली सेनाले तोप समेत पड्काएको थियो।

मंगलबार निधन भएका नेम्वाङको अन्तिम संस्कार अगाडि निजी निवास बालुवाटारबाट शवयात्रा निकालिएको थियो। शव यात्रा बालुवाटारबाट महाराजगञ्ज–धुम्बाराही, चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो।

पशुपति आर्यघाटमा पनि विभिन्न दलका नेता, सुभेच्छुक र उच्चपदस्थ सरकारी पदाधिकारी र अधिकारीहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको शवमा पार्टीको झण्डा ओढाएका थिए।

घरमा अचेत अवस्थामा फेला परेका भनिएको नेम्वाङलाई मंगलबार बिहान १:५० त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउने बेला नेम्वाङ जीवित रहेको कुनै संकेत नदिएको चिकित्सकले बताएका छन्।
सीपीआर गरेर मुटुको घड्कन फिर्ता ल्याउने प्रयास गरिए पनि सफल नभएपछि चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए। नेम्वाङको शव मंगलबार र बुधबार दिउँसोसम्म नेकपा एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको थियो।

च्यासलमा पुगेर विभिन्न दलका नेताहरु, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति, उच्चपदस्थ अधिकारी, पार्टीका नेता तथा कार्यकर्ता र सुभेच्छुकले नेम्वाङको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

बुधबार दिउँसो नेम्वाङको पार्थीव शरीर बालुवाटार ल्याइएको थियो। बालुवाटारबाट नै बिहीबार बिहान शवयात्रा सुरु भएको हो।
नेम्वाङको अन्तिम संस्कार हुने दिन बिहीबार सरकारले देशभर शोक बिदा दिएको छ। नेम्वाङको निधनको शोकमा बिहीबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाल दूताबास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।